Search
  • Milan Dixit

बलियो बालकिताब किन र कसरी पढ्ने

आमाले नौ महिनाको बच्चालाई काखमा लिएर रङ्‍गीन, आकर्षक किताब खोल्छिन् र पढ्न थाल्छिन्। तुरुन्तै बच्चाले आमाको आवाज र किताबमा भएका चित्रहरूमा प्रतिक्रिया देखाउँछ। यस अन्तर्क्रियाले जीवनभरि नै किताबप्रति प्रेमको ढोका खोलिदिन्छ।


नयाँ अनुसन्धानले के पत्ता लगाएको छ भने ससाना बालबालिकाहरूलाई पढेर सुनाउनाले उनीहरूको मस्तिष्कको विकासमा धेरै फरक पर्छ। बालकको जीवनको पहिलो पाँच वर्ष महत्त्वपूर्ण हुन्छ किनभने यस अवधिमा मस्तिष्कमा महत्त्वपूर्ण र सबैभन्दा द्रुत गतिमा स्नायु सम्पर्कहरू बन्छन् र स्नायुको सम्बन्ध बलियो हुन्छ। यसै बेला सबैभन्दा छिटो भाषाको विकास पनि हुन्छ।



किताब पढेर सुनाइएका र नसुनाइएका बालबालिकाहरूको शब्दभण्डारको विकासमा ठुलो अन्तर हुन्छ भनेर पनि अनुसन्धानले देखाएको छ। जुन बालबालिकाहरूलाई पढेर सुनाइएको हुँदैन, ती बालबालिकाहरू कक्षा एकमा पुगेपछि पढ्नमा पछाडि परिसक्छन्।कोही कोही त यस समस्याबाट उम्किनै सक्दैनन्।


जबसम्म बालबालिकाहरू आफैले पढ्न सक्ने हुँदैनन् र पानाहरू च्यात्ने हुन्छन्, तबसम्म किताबलाई उनीहरूबाट टाढै राख्नुपर्छ भन्‍ने चलन नेपालमा देखिन्छ। यसरी बालबालिकाहरूलाई किताब नदिने चलनमा परिवर्तन ल्याउनुपर्छ।


पढेर सुनाउनका लागि बालबालिकाहरू अहिले सानै छन् भनी कहिल्यै ठान्नु हुँदैन। यहाँसम्म कि आमाबुबाले कथा पढेर सुनाउँदा उहाँहरूको आवाज सुन्‍नासाथ नवजात शिशुहरूलाई आनन्द लाग्छ। ६ महिनाको शिशुले चित्रहरू हेरेर आवाज निकाल्दा उसले अभिभावकले पढिदिएकाले प्रतिक्रिया जनाएको हो भन्‍ने बुझिन्छ। दुई वर्षको बालकले पानाहरू पल्टाउनु र आफूले किताबमा देखेको कुरा भन्नु भनेको उसले आफूले सुनेको कथा भनेको हो र किताबले कथा भन्छ भन्‍ने कुरा उसले बुझिसक्यो भन्‍ने जनाउँछ।


ससाना शिशुहरूले किताबका पातला पानाहरू पढ्ने प्रयास गरे त्यसका पानाहरू च्यातिन सक्छन्। त्यसो भए कस्ता किसिमका किताबहरू शिशुहरूका लागि उपयुक्त हुन्छन् त ?


'बलियो बालकिताब'ले शिशु, बालबालिका, आमाबुबा र शिक्षकहरूका लागि सिकाइ अवसरको एउटा पूरा नयाँ संसार खोलिदिन्छ। बलियो बालकिताबहरू कडा र टिकाउ हुन्छन् र जसरी प्रयोग गरे पनि बिग्रँदैनन्। यस्ता बालकिताबका चित्रहरू बालबालिकाहरूलाई आकर्षित गर्ने खालका बनाइएका हुन्छन्। यसका कथाहरू बालबालिकाहरूले बुझ्ने गरी सरल, दोहोरिने र अनुमान गर्न सकिने खालका हुन्छन्।

२०७६ साल फागुन १० गतेको बालसाहित्य महोत्सवको अवसरमा 'रातो बङ्‍गला किताब'ले पहिलो पटक नेपाली भाषामा 'बलियो बालकिताब'हरू प्रकाशित गर्‍यो।अङ्ग्रेजीमा 'बोर्ड बुक' भनिने किताबलाई प्रकाशकहरूले 'बालियो बालकिताब' भनी नाम दिएका छन्। विभिन्‍न शीर्षकका ओटा नयाँ 'बलियो बालकिताब'हरूले बालबालिकाहरूलाई आकर्षित गर्छन् र यसका विषयवस्तुहरू बालबालिकाहरूका लागि सान्दर्भिक छन्।


'बलियो बालकिताब' पढ्ने क्रममा अभिभावक र बच्चाबिच अन्तर्क्रिया हुन्छ। यसले बच्चा र अभिभावकको सम्बन्धको विकासमा चमत्कार नै गर्छ। जब आमाबुबाले बच्चाहरूलाई किताब पढेर सुनाउँछन्, तब उनीहरूको शारीरिक निकटताले हामी सँगै पढ्दै छौँ, हामी रमाइलो गर्दै छौँ भन्‍ने जस्ता महत्त्वपूर्ण सन्देशहरू पठाउँछ। किताब बालबालिकाका लागि आनन्दको स्रोत हो, चिन्ता वा त्रासको स्रोत होइन अनि किताबहरूलाई कण्ठ गर्ने र यदि नजानेमा सजाय दिने साधन होइन भन्‍ने उनीहरूले महसुस गर्छन्।

'बलियो बालकिताब'हरूलाई शिशु र ससाना बालबालिकाहरूले च्यात्लान् भन्‍ने डर हुँदैन।यी किताबहरू निकै कडा हुन्छन्। यिनलाई उनीहरूले निर्धक्‍क भएर खोल्न सक्छन्, पानाहरू पल्टाउन सक्छन्, खसाल्न सक्छन् वा मुखमा लैजान सक्छन्, खानाका दाग पनि लगाउन सक्छन्।यसप्रकारका किताबहरू अनुभव प्रदान गर्ने र आनन्द दिने खेलौनासरह हुन्छन्।

यस्ता किताबहरू बालबालिकाको उमेरअनुसार विभिन्‍न तरिकाले पढ्नुपर्छ। ससाना बालबालिकाहरूका लागि पढ्ने भनेको उसले काखमा बसी शान्त र मिठो बोलीमा सुन्दै आकर्षक चित्रहरू हेर्नु हो।शिशुहरूलाई हरेक रात सुत्‍नुअगि पढेर सुनाउने चलन बसाल्नाले किताबप्रतिको प्रेम जगाउँछ।

समयसँगै शिशुहरूले सुन्‍न, ध्यान केन्द्रित गर्न र स्थिर बसेर ठुलो मान्छेले किताब उठाएर पढिदेऊन् भन्ठान्छन् तथा त्यसबाट आनन्द लिन सिक्छन्। यति भएपछि किताबहरूलाई स्वतन्त्र रूपमा पढ्ने उनीहरूको यात्रा सुरु हुन्छ।


पढेर सुनाउने मानिसले बालबालिकाहरूको रुचि र संलग्नतालाई ध्यानपूर्वक हेर्नुपर्छ र सोहीअनुसार पढेर सुनाउनुपर्छ।पढ्ने कुनै पनि तरिका सही वा गलत हुँदैन। त्यसै गरी, किताब बुझ्ने कुनै पनि तरिका सही र गलत हुँदैन।खास कुरा के हो भने बालबालिकाहरूलाई उसले ठिकसँग बुझ्‍यो कि बुझेन भन्‍ने कुरा छाडी उससँग रमाइलो गरी छलफल गर्नुपर्छ।यसो गर्दा उनीहरूले राम्ररी कथा बुझ्ने मौका पाउँछन्।

हुर्किरहेका बालबालिकाहरूको पढ्ने रुचि र गहिराइ बुझेर उनीहरूलाई सुहाउँदो किताब पढिदिनुपर्छ।एक पटक बच्चाले बोल्न सुरु गरेपछि अभिभावकले पढेर सुनाई बच्चासँग अन्तर्क्रिया गर्दा साक्षरता, कुराकानी, अनुमान र सम्बन्ध अझ विकसित हुन्छ। उनीहरूमा एक ठाउँ र अर्को ठाउँको लिखित कुराबिचको सम्बन्ध, लिखित कुरा र आफू स्वयम्‌बिचको सम्बन्ध र लिखित कुरा तथा बाहिरी संसारबिचको सम्बन्ध राख्‍ने सिपको विकास हुन्छ। लगभग चार वर्षको उमेरमा विकसित हुने यो सिप साक्षरता र बुझाइ सिपका लागि सबैभन्दा महत्त्वपूर्ण हुन्छ।अभिभावक वा शिक्षकसँग बसी किताब पढेको सुन्दा, कुराकानी गर्दा, छलफल गर्दा ऊ आफसेआफ यसप्रकारको सम्बन्ध स्थापित गर्न सक्षम हुन्छ।


यो वर्ष प्रकाशित गरिएका 'बलियो बालकिताब'मध्ये एउटाको शीर्षक 'कस्तो बिरालो ?' हो। सुधा ओझाद्वारा लिखित र प्रोमिना श्रेष्ठद्वारा चित्रित यस किताबले बालक-वयस्कको अन्तर्क्रियाका लागि अनगिन्ती अवसर प्रदान गर्छ। पानापिच्छे विभिन्‍न रङका, विभिन्‍न आकारका अनि विभिन्‍न आसनका बिरालाहरू छन्।भिन्‍नता तथा समानताबारे विभिन्‍न किसिमका कुराकानी गर्न यस किताबले राम्रो मौका दिन्छ।


यदि तपाईं बालकका लागि पढ्न लाग्नुभएको छ भने उसलाई नजिकै राख्‍नुहोस्। यदि सानो शिशु छ भने काखमा राख्‍नुहोस्।उसको अगाडि किताब खोल्नुहोस् र पढ्न थाल्नुहोस्।


"कस्तो बिरालो ? " भनी सोध्दै सुरु गर्नुहोस्। त्यसपछि चित्र देखाउँदै चित्रले कस्तो किसिमको बिरालो देखाएको छ भनेर कुरा गर्नुहोस्। बिरालालाई रमाइलो लाग्ला कि नलाग्ला भनेर सोध्नुहोस्।यदि बच्चा ठुलो छ र भन्‍न सक्छ भने प्रश्‍न सोध्दै पढिदिनुहोस्। बच्चाले जेसुकै उत्तर दिए पनि त्यो ठिक हुन्छ। यो कुरा उसले आफूले देखेको कुरामा आधारित हुन्छ। यहाँ कुनै ठिक बेठिक उत्तर हुँदैन तर यदि बच्चाले अस्वाभाविक उत्तर दियो भने उसले किन यस्तो उत्तर दियो भनी कुराकानी गर्नुहोस् र बुझ्न खोज्नुहोस्।

अर्को पाना पल्टाउनुहोस्। उमेर र भाषाको विकासको स्तरका आधारमा बच्चालाई तिमीले के देख्यौ भनी सोध्नुहोस्। पानामा एउटा टाटेपाटे बिरालो छ। बच्चालाई सोध्नुहोस्, "कस्तो बिरालो?" बच्चाले दोहोर्‍याउँछ, "टाटेपाटे बिरालो।" बच्चाले किताबको गातामा भएको बिरालो हेर्न चाहन्छ र दुई बिरालाहरूबिचको भिन्‍नतालाई हेर्छ।

पढ्दै जाँदा हेरक पानामा कस्तो बिरालो ? भनी सोधिरहनुहोस्। बिरालालाई हेरेर बच्चाले भन्‍ने छ, “भुत्ले बिरालो” वा तपाईंले भन्‍नुहुने छ, “भुत्ले बिरालो।” तपाईं यसरी पनि सोध्न सक्नुहुन्छ, “अब कस्तो बिरालो आउला ?" पाना पल्टाउनुहोस्।अर्को पानामा ढाडे बिरालो छ।हातले इसारा गरेर देखाउँदै सोध्नुहोस्, "कत्रो छ ? यत्रो छ ? कि यत्रो ? " बच्चाले बिरालो कति ठुलो छ भनेर तपाईंलाई देखाउँछ।


पढ्दै जाँदा बच्चासँग कुराकानी गरिरहनुहोस्। बच्चाले सम्बन्ध स्थापित गर्छ। यस्ता कुराहरू भन्‍नुहोस्, "कस्तो बिरालो ? फुच्चे बिरालो ? फुच्चे भनेको कस्तो हो ? देख्यौ त ? मलाई देखाऊ ? हातले देखाऊ त ! ढाडे बिरालो ठुलो छ कि फुच्चे बिरालो ठुलो छ ? ”

राम्ररी कुराकानी वा अन्तर्क्रिया गरियो भने पछि के के घटना होलान् भन्‍ने कुराले बच्चाहरूलाई बाँधिराख्छ।“अब कस्तो बिरालो आउँछ ?” रिसाएको बिरालो ?" दोहोर्‍याएर पढ्दा यसप्रकारको प्रश्‍न गर्न सकिन्छ।

प्रत्येकचोटि पढ्दा उस्तै प्रश्‍नहरू सोध्नु आवश्यक छैन। यसरी पनि सोध्न सकिन्छ, “बिरालो किन रिसाएको होला ? तिमी पनि कहिलेकाहीँ रिसाउँछौ ? आमा रिसाउनुहुन्छ ? मानिसहरूलाई पनि घरपालुवा जनावरजत्तिकै रिस उठ्छ ? जनावरहरू किन रिसाउँछन् होला ? "


'खेलेको बिरालो'को पानामा बिरालो खेल्दै छ।यस पानामा कुरा गर्न सकिने धेरै चिजहरू छन्। त्यस्तै, 'लुकेको बिरालो' को पानामा बिरालो लुकेको छ।"तिमीलाई पनि लुकामारी खेल्न मन लाग्छ ? बिरालो किन लुकेको होला? तिमी पनि कहिलेकाहीँ लुक्छौ ?" यसरी कुराकानी गर्न सकिन्छ।


झुन्डेको बिरालाको चित्रले अलि ठुला बालबालिकाहरूलाई बिरालो खस्ला भन्‍ने पिर लाग्न सक्छ। बिरालाहरू रुख चढ्न सिपालु हुन्छन्, उनीहरूलाई रुख चढ्न मन लाग्छ भनेर छलफल गर्नुहोस्।यसपछि मात्र उनीहरूले सन्दर्भ मिलाउन सक्छन् अथवा बच्चाले आफ्नो बगैँचाको रुख आफै चढेको कुरा गर्न चाहन्छ।

यस किताबको हरेक पानामा कुराकानी र तल्लीन राख्‍नका लागि असङ्ख्य सम्भावनाहरू छन्।हरेक पानाले पढ्न र पुनः पढिरहनका लागि जोस्याउँछ। ससाना बालबालिकाहरूलाई बारम्बार कथाहरू पढ्न मन लाग्छ। उनीहरू पूर्वानुमान गर्नुपर्ने कथा र पढाइ-प्रक्रियालाई सारै रमाइलो मान्छन्।जतिजति पढेर सुनाइन्छ, उतिउति उनीहरूको विकासमा मदत पुग्छ।

अर्को 'बलियो बालकिताब' 'दाल भात तरकारी' शीर्षकको हो। यो किताब मिलीजुली समूहद्वारा लेखिएको हो। यस समूहमा 'रातो बङ्‍गला किताब'का अनुभवी शिक्षाविद्हरू रहेका छन्।यसका चित्रकार प्रोमिना श्रेष्ठ हुन्।प्रत्येक पानामा हप्‍ताको कुनै एक दिन र कुनै एक खास खानामा ध्यान दिइएको छ। अनुकरणात्मक शब्दहरूको प्रयोग तथा प्रश्‍नोत्तरको ढाँचामा लेखिएकाले पढाइलाई रमाइलो र अन्तर्क्रियात्मक बनाउँछ। किताबमा हप्‍ताका दिनहरूसहित अवधारणा बुझ्ने सम्भावना रहेको छ। छलफल गर्दा र सम्बन्ध बनाउँदा; अनुकरणात्मक शब्दहरू उच्चारण गर्दा; नेपाली खानाको स्वाद, किसिम र विशेषताबारे छलफल गर्दा सिकाइको अवधारणा प्राप्‍त हुन्छ। विज्ञापनहरूमा पोषणरहित खानाको तुलनामा दाल, भात, तरकारी विरलै देखिन्छन्।

अभिभावकसँग किताब पढ्दा बच्चाले पनि पानाहरू पल्टाए ऊ अझ मग्न हुन्छ।यसरी संलग्न हुन पाए ऊ बारम्बार किताब सुन्‍न चाहन्छ। उसले छिटै नै किताब कण्ठ पारिसकेको हुन्छ र आफैले 'पढ्न' (पढेको जस्तो गर्न) थाल्छ। यसरी आफैले 'पढ्नु' पढाइपूर्वको एक महत्त्वपूर्ण सिप हो। वयस्कसँग किताबको मजा लिइसकेपछि बालबालिकाहरू आफैले पाना पल्टाउँदै सुरुदेखि किताब पढ्न थाल्छन्।


अभिभावकले बच्चालाई नियमित रूपमा पढेर सुनाउनाले दुवैबिचको बन्धन अझ बढ्छ। यो अर्को महत्त्वपूर्ण पक्ष हो।यसो गर्दा नजिकै बसेर र पढेर रमाइलो गर्ने अभिभावकसँगको सम्बन्धको विकास हुन्छ, जुन सदाका लागि रहिरहन्छ।

ससाना बालबालिकाहरूलाई रङ्‍गीन र आकर्षक चित्र भएका किताबहरू दिएमा उनीहरूमा किताब र पढाइप्रतिको प्रेमको विकास हुन्छ। पढ्न सिक्ने सिपको विकास गर्न राम्रो टेवा पाएका बालबालिकाहरूले जीवनभर पढेर सिक्ने सिप हासिल गरेका हुन्छन्।


पढ्ने बानी लागेका बालबालिकाहरूले सबै बौद्धिक क्रियाकलापहरूमा राम्रो गर्छन् र थप कुरा, उनीहरू राम्रो मानिस बन्छन्।

किताबले पाठकका लागि सम्पूर्ण संसार खोलिदिन्छ। किताबमा भएका विभिन्‍न पात्रका कथाहरूले उनीहरूलाई जीवन र संसारबारे सिकाउँछन् र विभिन्‍न दृष्टिकोण बुझ्ने क्षमता दिन्छन्। उदाहरणका लागि, 'आफै सक्छु' शीर्षकको बालियो बालकिताबको प्रत्येक पानामा फरक सिप भएका फरक फरक बच्चाहरूलाई देखाइएको छ। यो किताब पनि मिलीजुली समूहद्वारा लेखिएको हो।यसका चित्रकार कृपा जोशी हुन्। "म सानो हुँदा कत्ति सुत्थेँ, अब त…" भनेर किताब सुरु हुन्छ र अगाडि बढ्छ। त्यसपछि उसले आफू आफै खान, आफै जुत्ता लाउन, आफै बल समात्न सक्ने भएको कुरा थाहा पाउँछ।


तपाईंले पाना देखाउँदै पढ्दा उनीहरूले चित्रमा देख्‍ने विभिन्‍न बच्चाहरूका बारेमा कुरा गर्नुहोस्। बच्चाहरूले आफै गर्न सक्छन् भन्‍नेबारेमा कुरा गर्दा उनीहरूका लागि कसैले काम गरिदिनुको साटो आफै गर्ने प्रयास गर्ने प्रेरणा मिल्छ। वयस्क पाठकसँगको कुराकानीले बच्चाको मस्तिष्कको स्नायु-सम्पर्कलाई सुदृढ बनाउँछ।


शान्ता हिताङद्वारा कोलाजमा सुन्दर ढङ्‍गले चित्रण गरिएको र मिलीजुली समूहद्वारा लिखित 'कस्तो माया गरेको !' शीर्षकको किताबले बालपाठकलाई साधारण कामकाज र परिवारका विभिन्‍न सदस्यहरूसँग गर्ने रमाइला गतिविधिहरूको परिचय गराउँछ।

यो किताब बच्चाले आफ्नी हजुरआमालाई पिङ मच्चाइदिएको चित्रबाट सुरु हुन्छ।

"हजुरआमा ! पिङ मच्चाइदिऊँ ?

कस्तो माया गरेको !

हजुरबुबा ! चस्मा लिनुस् न ।

कस्तो माया गरेको !" जस्ता अन्तर्क्रियाहरू किताबमा छन्।

प्रत्येक पानाले राम्रो भाषाको विकास गर्ने, प्यारो सम्बन्ध राख्‍ने र रमाइलो गर्ने अवसर दिन्छ।किताबमा सहयोगी भाव, माया, आदर तथा रमाइलो कुराकानीका दृश्यहरूको चित्रण गरिएको छ।



'रमाइलो' मिलीजुली समूहको अर्को किताब हो। यसका चित्रकार शान्ता हिताङ हुन्। यसमा भएका जटिल कोलाज चित्रहरू रङ्‍गीन र मनमोहक छन्।कथाको सानो केटो एक पानाबाट अर्को पानामा जान्छ र परिवारका सदस्यहरूसँग रमाइलो गर्छ।





"बुबाको काँध चढ्दा मलाई रमाइलो भयो।

हजुरमुमालाई काउकुति लाउँदा मलाई रमाइलो भयो।

हजुरबुबाको जुँगा मिलाउँदा मलाई रमाइलो भयो।"

यस्तै यस्तै।






कल्पना पराजुलीद्वारा लिखित 'उड्ने कि गुड्ने ?' शीर्षकको किताब पनि अर्को बलियो बालकिताब हो। यसका चित्रकार प्रोमिना श्रेष्ठ हुन्। यो किताब पनि सुन्दर चित्रहरूले सजिएको छ।यसमा एउटी सानी केटी र उसकी आमाबिचको रमाइलो कुराकानी हुन्छ।

"आमा ! आमा ! आज कता जाने ?

हजुरआमा-कहाँ ?

कस्तो रमाइलो !

कसरी जाने ?

साइकलमा गुडेर ?

डुङ्‍गामा बगेर ?

घोडामा चढेर ?" आदि ।


यस किताबलाई पनि अन्य पाँच किताबहरूलाई जस्तै पढेर सुनाउनुपर्छ। यसले अन्तर्क्रिया, राम्रो कुराकानी, किताब र बच्चाको जीवन तथा संसारबिच सम्बन्ध स्थापित गराउँछ। सँगै बसेर पढ्दा यस किताबले वयस्क पाठक र सुन्‍ने बच्चा दुवैलाई आनन्द प्रदान गर्छ। किताबले यातायातका विभिन्‍न साधन तथा अनुकरणात्मक शब्द दुवै कुराको परिचय दिन्छ, जुन सामान्यतया उनीहरूसँग आकर्षक रूपमा गाँसिएका हुन्छन्।


िश्‍वभरका बालरोग विशेषज्ञहरू बच्चाहरूलाई नियमित रूपमा पढेर सुनाउने सल्लाह दिन्छन्। अभिभावकले दिनहुँ पढेर सुनाउँदा अभिभावक र बच्चा दुवैलाई यो रमाइलो अवसर खोज्ने बानी पर्छ। किताब पढ्दाखेरि अभिभावकको आवाज सुन्‍नाले र अभिभावकसँगै बस्नाले बच्चासँगको सम्बन्ध अझ प्रगाढ हुन्छ। दोहोर्‍याई तेहर्‍याई किताब पढ्दा, किताबको सामग्री कण्ठ हुँदा र वयस्क तथा बच्चाबिचको कुराकानी सबैले बालबालिकाहरूको स्नायु सम्पर्क विकसित र सुदृढ बनाउँछ।

पढेर सुनाउँदा सरल र रमाइलो तरिकाबाट महत्त्वपूर्ण साक्षरता सिपहरू प्राप्‍त हुन्छ। पढेर सुनाउँदा बालबालिकाहरूले सजिलैसँग बुझ्न थाल्छन्। कथाको आरम्भ, मध्य र अन्त्य हुन्छ, अक्षर अक्षर मिलेर शब्द बन्छन्, शब्द शब्द मिलेर वाक्य बन्छन्, ती वाक्यहरूलाई फरक फरक ढङ्‍गमा पढ्न सकिन्छ भन्‍ने जस्ता महत्त्वपूर्ण कुराहरू उनीहरूलाई छर्लङ्‍ङ हुन्छ। उदाहरणका लागि, प्रश्‍नचिह्नले केही कुरा सोधेको जनाउँछ र उद्‍गार चिह्लेनले मनको भाव व्यक्त गर्छ भन्‍ने कुरा शिक्षकले घोकाउनुअगावै बालबालिकाहरूले सिकिसकेका हुन्छन्।

नियमित रूपमा पढेको सुन्‍ने गरेका बालबालिकाहरूले पूर्वपढाइका महत्त्वपूर्ण सिपहरू सहजै प्राप्‍त गर्छन्। यसमा किताबहरूको मजा लिनु, पढ्न प्रेरित हुनु, लेखिएको कुराप्रति सचेत हुनु, चित्रहरू हेरी कथा भन्‍न सक्नु, प्रश्‍नहरू सोध्नु र उत्तर दिनु, सम्बन्ध बनाउनु, कथामा चित्रहरूले के देखाउँछन् भनेर व्यक्त गर्नका लागि राम्रो शब्दभण्डार हुनु, किताब लिएर पढ्न मन लाग्नु र कथा भन्‍ने जस्ता सिपहरू समावेश भएका हुन्छन्। पढेर सुनाउनाले धेरै पाठ सिकाउँछ तर सबैभन्दा महत्त्वपूर्ण कुराचाहिँ किताबहरू पढेर रमाउनु र आनन्द लिनु नै हो।


मिलन दीक्षित पाठ्यक्रम विशेषज्ञ तथा राताे बङ्गला स्कुलका प्रिन्सिपल हुनुहुन्छ।


#balsahitya #ratobangala #readingculture #childrenliterature #firstboardbooknepal #benefitsofreading #kidslovekitab

355 views
For news and
special offers
  • Facebook Clean

visit our Facebook page

Are you an aspiring children's literature writer or illustrator? Contact us!